ट्रकको ठक्करबाट नवलपुरमा एक शसस्त्र प्रहरीको मृत्यु, एक प्रहरी जवान घाइते

नवलपुर, साउन २९ गते । ट्रकले मोटर साइकललाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालिका-८ फुलबारी उकालोस्थित पूर्व पश्‍चिम राजमार्गमा कावासोतीबाट दुम्किबासतर्फ जादै गरेको बा.प्र.०६-००१ क ०४४४ नं.को मिनि ट्रकले बिपरित दिशामा गुडिरहेको बा ७६ प २७१७ नम्बरको पल्सर मोटर साइकललाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान राजकुमार बोहोराको मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा परी कावासोती नगरपालिका १४ सुन्दरबस्ती बस्ने अन्दाजी ३० बर्षीय जित बहादुर महतो गम्भीर घाइते भएका छन् । महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी तथा कार्यरत रहि हाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान हुन् ।

बोहोराको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रकका चालक र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।