जिल्ला प्रशासनले भन्यो, ३ दिन भारी वर्षाको अत्यन्त जोखिम छ, बाहिर ननिस्कनु, झटपट झोला तयार पार्नु

बोमलाल गिरी
नवलपुर, असोज १७ गते । जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावस्यक काम नपरी घर बाहिर ननिस्कन सबैसित अपिल गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी १७ गतेदेखि २० गतेसम्म मुलुकका विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुर जिल्लामा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गरेको हो ।

भारी वर्षाका कारण उत्पन्न हुन सक्ने डुवान, बाढी, पहिरो, भुक्षय लगायतका विपद्जन्य जोखिम हुने, हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै सकर्कता अपनाउन र पूर्व तयारीमा ध्यान दिन भनेको हो ।

प्रशासनले यो अवधिमा अत्यन्त जरुरी काम नपरी घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न, पहिरोको उच्च जोखिम रहेका स्थानहरु, नदी किनारमा नबस्न तथा तथा जोखिमपूर्ण स्थानका वासिन्दाले आपतकालिन सामग्री र झटपट झोला तयारी अवस्थामा राख्न भनेको छ ।

त्यस्तै सवारी साधनलाई संयम भएर सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन आग्रह गर्दै भित्रि सडकहरु साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न निर्देशन दिइएको छ । यो अवधिमा जिल्लाको गैँडाकोटको कालिगण्डकी करिडोरदेखि डेढगाउँसम्म र दलदले–धौवादी–बुलिङटारको भित्रि सडक बन्द रहने छ ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड र कालिगण्डकी करिडोरको तरंगे खोला आसपास तुरुन्त परिचालन हुने गरी डोजर, एक्जाभेटर तयारी अवस्थामा राख्न र पूर्व तयारीमा जुट्न पनि प्रशासनले सबैसित अपिल गरेको छ ।