भीमफेदी कारागारबाट भागेका कैदीको नवलपुरमा हत्या

बोमलाल गिरी
नवलपुर, कात्तिक ८ गते । नवलपुरको गैँडाकोट नगरपालिका–४ धारापानीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएका युवक जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका कैदी भएको पुष्टि भएको छ ।

भीमफेदी कारागार प्रशासक शुवास पौडेलका अनुसार कुमाल भदौ २५ गते कारागारबाट भागेका थिए । घटनाका एक प्रत्यक्षदर्शीका अनुसार, करिब १४/१५ जनाको संख्यामा आएका युवाहरूको समूहले कुमाललाई घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए ।

गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहारबाट घाइते कुमाललाई उपचारका लागि गैँडाकोट सामुदायिक अस्पतालमा सामन्य उपचार पश्चात थप उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएकोमा चिकित्सकले सवा ११ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी परीक्षक युवराज खड्काले बताए ।

सामान्य झैझगडाका आधारमा कुमालको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको खड्काले बताए । कुमालकी दिदीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताए । उनीहरुलाई आइतबार अदालतमा उपस्थित गराइने उनको भनाइ छ ।

कुमालको वास्तविक ठेगाना भने कालिका नगरपालिका–४ पदमपुर, चितवन रहेको कारागार प्रशासक पौडेलले बताए । उनी जर्वजस्ती करणी मुद्धामा २०७४ साल साउन ३ गते पक्राउ परेका थिए । उक्त कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । कुमालको २०८४ साउन ३ गते जेलबाट छुट्ने मिति थियो ।