बोमलाल गिरी
नवलपुर, कात्तिक २२ गते । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती सामुदायिक वनमा कार्ययोजना विपरित मनपरि जीप सफारी हुने गरेको पाइएको छ । कार्ययोजनामा सूर्योदयदेखि सूर्यास्तसम्म मात्र जीप सफारी गरिनु पर्नु, तोकिएको स्थानबाहेक अन्यत्र जीप रोक्न र यात्रु ओराल्न नपाउने, २५ देखि ३० मिटर टाढैबाट पर्यटकलाई जंगली जनावर अवलोकन गराउनु पर्ने व्यवस्था भएपनि त्यसको उलंघन गर्दै जीप सफारी हुने गरेको पाइएको छ ।
पर्यटकलाई जंगल सफारी गराउँदा जंगलमा तीनवटा गाडीले गैंडाका माउ बच्चालाई घेरा हाल्ने, जंगलमै पर्यटक झारेर ड्राई पिक्निक गराउने, बासस्थानमै गएर बाधा पु¥याउने, अनुमती विपरितको फरक बाटो हिँडाएर जनावरलाई आतंकित पार्ने जस्ता गुनासा आएका निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए ।
पछिल्लो समय नवलपुरको दिब्य मध्यवर्ती सामुदायिक वनमा यात्रुलाई जंगल भित्रै उतारेर ‘ड्राई पिकनिक’ खुवाईएको छ । उक्त वनका अध्यक्ष सुवास ओझाका अनुसार पिप्रहर होम स्टे, नवलपुरको जीपले जंगल भित्रै यात्रुलाई ओरालेर ‘ड्राइ पिकनिक’ गराएको पाइएको हो ।

‘‘यो जीप सफारीको कार्ययोजना विपरितको गम्भीर लापरवाही हो, जंगलमा यसरी पर्यटकलाई पनि ओर्लन समेत अनुमति दिइदैन भने गाडी रोकेर ‘ड्राइ पिकनिक’ खाने अनुमति दिनु गमभीर विषय हो,’’ अध्यक्ष ओझाले भने,‘‘ हामी आजै बोलाएर स्पष्टिकरण सोध्छौं ।’’
यसरी जंगलमा गाडी रोक्दा जंगली जनावरले आक्रमण गर्ने प्रवल सम्भावना हुने भएकाले यो घटनाले आफूहरलाई निक्कै गम्भीर बनाएको ओझाको भनाइ छ । केही दिनअघि नमूना सामुदायिक वनमा गाडीहरुले गैँडा र बच्चालाई तीन तिरबाट घेरेर फोटो र भिडियो खिचेको अमलटारी सेक्टरका वार्डेन मधु नेपालीले जानकारी दिइन् ।
त्यसअघि कृष्णसार सामुदायिक वनमा गैँडाको नजिकै गाडी लैजाने तीन जना जीप चालक र तीन जना नेचर गाईडलाई अमलटारी सेक्टर कार्यालयमा बोलाएर स्पष्टिकरण सोधिएको र आइन्दा गल्ती नदोहोर्याउने सर्तमा छोडिएको वार्डेन नेपालीले बताइन् ।
यसरी कार्यविधि विपरित जीप सफारी गराउने क्रम बढेपछि निकुञ्ज पनि आक्रमक बनेको छ । उनीहरुलाई पहिलो चरणमा सम्झाई बुझाइ गर्ने, दोस्रो चरणमा जीप सफारीमा रोक लगाउने र फोरी पनि गल्ती दोहो¥याएमा सामुदायिक वन नै फिर्ता लिनेसम्मको प्रकृयामा जाने निकुञ्जका सूचना अधिकारी थापाको चेतावनी छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/०८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिनुअघि शान्तिकुञ्ज, नमुना मध्यवर्ती, कृष्णसार र गुन्द्रही ढाका सामुदायिक बनका पदाधिकारीहरुलाई बोलाएर अन्तरकृया गरी सचेत गराएपनि सुरुवातमै कार्यविधि उलंघन भएको वार्डेन नेपालीले बताइन् ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले यस्ता कृयाकलापले पर्यटन प्रवर्धनमा असर गर्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । ‘‘यसरी पटक पटक नियम उलंघन गर्नु राम्रो होइन, यो बिकृति हो, यसले जिल्लाको पर्यटन क्षेत्रलाई नोक्सान पु¥याउँछ, सबै जिम्मेवार बनौं,’’ अध्यक्ष महतोले भने ।










