काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयबाट कात्तिक ९ गते सरुवा गरेका दुई प्रमुख जिल्ला अधिकारी ९सीडीओ०को सरुवा भएको स्थानमा हाजिर नै नभई पुनः सरुवा भएको छ ।
कात्तिक ९ गते मन्त्री अर्यालले ३६ सहसचिवको सरुवा गर्दा जुम्लामा सहसचिव खिमबहादुर रायमाझीलाई सीडीओको जिम्मेवारी दिएका थिए । रायमाझीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट जुम्लाको सीडीओमा सरुवा गरिएको थियो ।
त्यसैदिन अछामको सीडीओ रहेका सहसचिव आनन्द सारुलाई सरुवा गरेर गुल्मीमा सीडीओको जिम्मेवारी दिइएको थियो । तर, दुवै जना सरुवा भएको स्थानमा नपुगी कात्तिक २६ गते पुनः सरुवामा परेका छन् । मन्त्री अर्यालस्तरीय निर्णयबाट ४ सहसचिव र ५४ उपसचिवको सरुवा गर्दा सहसचिवद्वय रायमाझी र सारुको पुनः सरुवा गरिएको हो । सरुलाई गुल्मीबाट दैलेखको सीडीओमा सरुवा गरिएको छ भने रायमाझीलाई जुम्लाबाट गृह मन्त्रालयमा तानिएको छ ।
रायमाझी सरुवा भएको जुम्लामा हाजिर नै नभएको निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिए ।यता सारु पनि गुल्मीमा हाजिर नै नभएको विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा काम काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० को ७ नम्बरको कामकाज गर्ने अवधि शीर्षकको १ नम्बर बुँदामा ‘एउटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुन्छ,’ भन्ने लेखिएको छ ।
त्यही बुँदामा तर लेखेर, ‘यसअघि राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूको कामकाज गर्ने अवधि पूरा नहुँदै सरुवा वा कामकाजमा खटाउन बाधा पर्ने छैन’ भनेर लेखिएको छ ।
गृहमन्त्री अर्यालले १७ दिनमा सरुवा गरेका दुवै सीडीयो सहसचिव हुन् । उनीहरूको हकमा तर पछिको वाक्य आकर्षित हुँदैन । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले आवश्यकताका आधारमा सरुवा गरिएको जानकारी दिए ।









