सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै पश्चिम नवलपरासीमा निर्वाचनको तयारी र मतदानस्थल निर्धारण कार्यलाई अगाडि बढाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरका मतदानस्थलहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरेको हो ।
जिल्लाका ७ पालिकामध्ये १२ वटा मतदानस्थललाई ‘अतिसंवेदनशील’ को सूचीमा राखिएको छ । अतिसंवेदनशीलको सूचीमा सबैभन्दा बढि सुस्ताका ४ स्थान परेका छन् । जिल्लामा यसअघि कायम गरिएका १२० मतदानस्थल लाई नै कायम गरिएको छ, जसमा जम्मा २८७ मतदान केन्द्र निर्धारण गरिएका छन् ।
यी मतदान केन्द्रहरू २०७९ सालको पुराना मतदाता नामावलीका आधारमा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले जानकारी दिए । नामावली सङ्कलनपछि केन्द्र थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यालयकी प्रमुख सुजाता खत्रीले जानकारी दिए ।
१६ वर्ष पूरा भई नेपाली नागरिकता पाएका नागरिकहरूले निर्वाचन कार्यालयमा नामावली दर्ता गरिरहेका छन् । असोज १० गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली संकलन कार्यक्रममा हालसम्म झण्डै एक हजुर पाँच सय नयाँ मतदाता थपिएका छन् ।









