डण्डामा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते, फरार ट्रक र बस चालक पक्राउ

नवलपुर, मंसिर ६ गते । नवलपुरको कावासोती-१६ डण्डामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार गएराति रोकिराखेको कर्णाली प्रदेश ०२–००१–ख ०५६४ नम्बरको बसमा ठक्कर खाएर पल्टिएको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई ना ६ ख ४८१३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक कावासोती-१६ गैँडाचोकका ४२ वर्षीय हिरा बहादुर परियारको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपालले जानकारी दिए ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार कावासोती–३, पुरानो कावासोतीका ३२ वर्षीया सुनिता जोहार्ज र कावासोती-१४ त्रिभुवनटारकी २४ वर्षीया मीना मगर घाइते भएका छन् । घाइते मध्ये सुनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते सुनिताको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ भने सुनिताको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।

ठक्कर दिने बस र ट्रक दुवै फरार भएपछि स्थानीयले राति नै केही बेर सडक अवरुद्ध गरेका थिए। ठक्कर दिने ट्रक र ट्रक चालक मकवानपुर थाहा नगरपालिका निवासी २८ बर्षीय विज्ञान केसीलाई चोरमारा प्रहरीले र बस र चालक पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका ५ निवासी ४४ बर्षिय जैनुल मिया अन्सारीलाई बेल्डिया प्रहरीले नियन्त्रणमा लिएएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।

दुबै चालक र सवारी साधनलाई नियन्त्रणमा लिएपछि अवरुद्ध सडक खुलेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस, बस चालक, ट्रक र ट्रक चालक अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।