बोमलाल गिरी
नवलपुर, मंसिर २० गते । नवलपुरमा एकैदिन एकै ठाउँमा नौवटा मृग मरेका छन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादी छरेको तोरी खाएर मृगहरु मरेको हुन सक्ने उनको भनाइ छ ।
आहारा प्रजातीको मुख्य प्रजाती मानिने मृग एकै पटक ठूलो संख्यामा मृत फेला परेपछि अनुसन्धान कार्य अगाडी बढाइएको थापाले बताए । मृग मर्नुको कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको छ ।
चितवनमा विषादीको परीक्षण गर्ने प्रयोगशाला नभएकाले पोष्टमार्टमको नमूना विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको उनले जानकारी दिए । चार पाँच दिनमा रिपोर्ट आएपछि मात्र कुन प्रकारको विषादीको प्रयोगले शरीरको कुन अंगमा असर गरेर मृत्यु भएको भन्ने एकिन भन्न सकिने थापाले बताए ।

मातृभूमि मध्यवर्ती सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीले पनि विषादीकै कारण मृग मरेको आशंका गरिएको बताए । मरेका नौ मृगमध्ये एउटा बच्चा रहेको छ ।
केही समयअघि रजहरका किसानले काउलीमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको पाइएको थियो । बेच्नका लागि बजारमा लगिएको काउली परीक्षण गर्दा ९८ प्रतिशत विषादी भेटिएकाले तोरीमा पनि त्यस्तै भएको हुन सक्ने सचिव अधिकारीको भनाइ छ । भेटेरिनरी तथा कृषि कार्यालयहरुले किसानलाई विषादी प्रयोग सम्बन्धि सचेतना फैलाउन नसकेको उनको गुनासो छ ।
निकुञ्जबाट तार जारी भत्केको स्थानबाट मृग बारीमा प्रवेश गरेका अधिकारीले बताए । जहाँबाट गैँडा पनि बारीमा आउने गरेका छ । बाघको डरले मृग गैँडाको साथमा हिड्ने गर्छन् । गैँडासँग हिड्दा मृगले सुरक्षित महसुस गर्ने गरेको सचिव अधिकारीको भनाइ छ । तीन वर्षअघि पनि यही ठाउँमा १५ वडा मृग मरेका थिए । त्यतिबेला पोष्टमार्टम रिपोर्टले प्लास्टिक खाएर मृगहरु मरेको देखाएको थियो ।









