नवलपुर, मंसिर २८ गते । कावासोती–१६ डण्डामा रहेको अग्यौली सामुदायिक श्रोत पुस्तकालयले महिलाका लागि लैंङ्गिक हिंसा सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरेको छ । पुस्तकालयले किशोरी, अभिभावक, युवा तथा आमा समूहलाई लक्षित गरी अभिमूखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता प्रकाश शर्मा पौडेल र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रराज गुरुङले अभिमूखिकरण तालिम दिएका थिए । जिल्ला न्यायाधिवक्ता पौडेलले संविधान र कानुनले महिलामाथि हुने हरेक प्रकारका विभेद र असमानताको अन्त्य गरेको भए व्यवहारमा अझै हिंसा र असमानता कायमै रहेको बताए ।
उनले घरेलु हिंसालाई लुकाएर, दवाएर वा सहेर बस्यो भने त्यसले पछि झन ठूलो समस्याको रुप लिने भएकाले सुरुमै समाधान खोज्ने हो भने हरेक समस्या समाधान हुने बताए ।
प्रहरी निरीक्षक गुरुङले महिलामाथि हुने गरेका हरेक प्रकारका हिंसा र ती हिंसा समधान गर्ने उपायका बारेमा जानकारी गराएका थिए । उनका अनुसार महिलामाथि हुने दबाब र हिंसाकै कारण पछिल्लो समय सम्बन्ध विच्छेदका घटना पनि बढिरहेका छन् ।
हाल नवलपुर जिल्ला अदालतमा ६ सय ४३ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालयमा पनि चालु आर्थिक वर्षमा मात्र १०३ वटा महिला हिंसाका घटना दर्ता भएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तर पार्टी महिला सञ्जालकी सदस्यसमेत रहेकी अग्यौली सामुदायिक स्रोत पुस्तकालयकी सचिव दुर्गा रिजालले महिला मात्र नभएर पुरुष पनि हिंसाको सिकार भएको भन्दै श्रीमान श्रीमती मिलेर सबैभन्दा पहिले घरेलु हिंसा अन्त्य गर्नु पर्नेमा जोड दिइन् ।









