अग्यौली खानेपानी संस्थाले उपभोक्तालाई एम्बुलेन्समा लागेको खर्च तिरिदिने

नवलपुर, मंसिर २८ गते । नवलपुरको कावासोती १६, डण्डामा रहेको अग्यौली खानेपानी संस्थाले आफ्ना उपभोक्ता बिरामी परेर एम्बुलेन्समा उपचार गर्न अस्पताल जानु परेमा लागेको सबै एम्बुलेन्स भाडा तिरिदिने भएको छ ।

संस्थाले आठौं वार्षिक साधारण सभाबाट आफ्ना सम्पूर्ण उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको संस्थाका कार्यवाहक अध्यक्ष गोपाल श्रीपालीले जानकारी दिए । ‘‘हाम्रा उपभोक्ता बिरामी परेमा एम्बुलेन्समार्फत नजिकका अस्पतालसम्म पुर्याउनका लागि लाग्ने भाडा संस्थाले व्यहोर्ने निर्णय गरेका छौं,’’ कावा अध्यक्ष श्रीपालीले भने ।

सुरुमा यो कार्यक्रम मध्यविन्दु प्रादेशिक अस्पताल डण्ड, मध्यविन्दु र देवचुली नगर अस्पतालसम्म पुग्ने बिरामीका लागि लागू हुने उनले बताए ।

यो संस्था गतवर्ष गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको थियो । देशभरबाट सात वटा खानेपानी संस्था उत्कृष्ट घोषित भएकोमा गण्डकी प्रदेशबाट अग्यौली खानेपानी सर्वोत्कृष्ट भएको हो । कार्यसमितिको तर्फबाट पनि देशभरीका अध्यक्षहरुमा उत्कृष्टता हाँसिल गरेको थियो ।

२०६४ सालमा स्थापना भएको संस्थाले स्वच्छ र सर्वसुलभ रुपमा खानेपानी वितरण गरेको अग्यौली खानेपानी तथा सरसफाइ संस्थाका सचिव अर्जुन चालिसेले बताए । अग्यौली खानेपानी संस्थाले कावासोती नगरपालिकाको मुख्य डण्डा बजारसहित यहाँका १४, १५, १६ र १७ वडामा बसोबास गर्ने करिब तीन हजार ग्राहक उपभोक्ताले पिउने पानी उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

भूमिगत जलस्रोतमा आधारित ओभरहेडमध्ये २ वटा सौर्यशक्तिबाट सञ्चालनमा रहेको संस्थाले जनाएको छ । २४ सै घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निःशुल्क गरेको, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको, चाडपर्वमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कार्यवाहक अध्यक्ष श्रीपाइलीले बताए ।