नवलपुर, माघ ३ गते । नवलपुरको देवचुली नगरपालिका –११ आश्रम चोकमा पिकअफ भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
आश्रम चोकमा ग १ ज ५९३० नम्बरको पिकअप भ्यानले गण्डकी प्रदेश ०४–००१ प ९१०६ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार दुर्घटनामा परी स्कुटर चालक रुकुमको मुसिकोट घर भई हाल देवचुली –९ विशालटार मामाघर आएका २५ वर्षीय चेतनबहादुर खड्काको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटर पछाडि बसेका देवचुली नगरपालिका –८ का २१ वर्षीय नारायण परियार गम्भीर घाइते हुनुभएको गुरुङले बताए । उनको सेन्ट्रल अस्पताल चितवनमा उपचार भइरहेको छ। ठक्कर दिने भ्यान र भ्यान चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिसकिलो जंगलमा ट्रकमा च्यापिएका सहचालकको साढे चार घण्टापछि उद्दार गरिएको छ ।
कावासोतीबाट चोरमारातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८४७२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० फिट तल खसेको प्रहरीको भनाइ छ । कावासोती-९ का २३ वर्षीय सहचालक सन्दिप परियारको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको गुरुङले बताए ।
ट्रकको स्टेरिङ र इन्जिनको भागमा च्यापिएका उहाँलाई क्रेनको सहायताले साढे चार घण्टापछि उद्दार गरिएको थियो । प्रहरी, सशस्त्र प्रहरी, कावासोती नगरपालिकाको क्रेन, स्थानीय व्यवसायी र सर्वसाधारणको संयुक्त प्रयासमा उनलाई उद्धार गरिएको हो । अस्पताल स्रोतका अनुसार उनको सामान्य अवस्थामा मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।









