दलहरुलाई उम्मेदवार चयन गर्ने चटारो, नवलपुरबाट यी हुन् टुंगिएका र आकांक्षी नाम

बोमलाल गिरी 

नवलपुर, माघ ४ गते । प्रतिनिधि सभा सदस्यका लागि मनोनयनको समय नजिकिँदै गर्दा नवलपुरबाट टिकट पाउन नेताहरुको दौडधुप बाक्लिएको छ । दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा अहिलेसम्म नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मात्र उम्मेदवार टुंगो लगाएका छन् भने अन्य दल छलफमै व्यस्त छन् ।

क्षेत्र नम्बर १ बाट एमालेले भागिरथ सापकोटा र नेकपाले लोकप्रसाद भुर्तेललाई उम्मेदवार बनाएका छन् भने २ नम्बरमा एमालेले तिलक महत र नेकपाले गणेशमान महतोलाई उम्मेदवार बनाएका छन् ।

क्षेत्र नम्बर १ बाट रास्वपाले राजन गौतमलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ भने २ नम्बरमा तीन जना आकांक्षी देखिएका छन् । रास्वपा गण्डकीका सभापति राजन गौतमका अनुसार २ नम्बरमा डा. पुष्पमणि खराल, मनिस खनाल र दोमन भण्डारी आकांक्षी रहेका छन् ।

कांग्रेस भने लामो समयसम्म आन्तरिक बिबादमा रुमल्लिँदा अझै उम्मेदवार निक्र्यौल गर्न सकेको छैन । क्षेत्र नम्बर १ मा चार र २ मा पनि चार जना आकांक्षी देखिएका छन् । कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेका अनुसार १ नम्बरमा बालकृष्ण घिमिरे, अमृत भट्टचन, डा शशांक कोइराला र गजेन्द्र बहादुर आलेले दावी गरिरहेका छन् ।

त्यस्तै २ नम्बरमा विष्णु कार्की, विष्णु लामिछाने, ओम बहादृुर थापा र शंकर तिवारीले आकांक्षा व्यक्त गरेका छन् । लामिछानेले उम्मेदवार चयन गर्ने छलफल जारी रहेकाले आजै साँझसम्म टुंगाउने बताए । अघिल्लो निर्वाचनमा क्षेत्र नं. १ बाट कांग्रेसका डा शशांक कोइराला र २ नं. बाट पनि कांग्रेसकै विष्णुकुमार कार्की निर्वाचित भएका थिए ।