बोमलाल गिरी
नवलपुर, माघ ८ गते ।नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिएका छन् । दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी दर्ता गराएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय १ का सूचना अधिकारी प्रेमप्रशाद पौडेलले घिमिरे उम्मेदवार किटान भएको जानकारी दिए । निर्वाचन कानुनको दफा १९ अनुसार पहिले दर्ता भएको नामलाई प्राथिमकता दिँदै घिमिरेलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको उनको भनाइ छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुर क्षेत्र नम्बर २ मा जनजाती महासंघका केन्द्रीय अध्यक्ष ओमघर्ति मगर उम्मेदवार बनेका छन् । यहाँको दुई वटै निर्वाचन क्षेत्रमा ०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।
उता पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा पनि यस्तै विवाद थियो । त्यहाँपनि पहिले उम्मेदवारी दर्ता गराएका आधारमा कांगेसले भिमबहादुर थापा ( भरत) लाई उम्मेदवार बनाएको छ । यहाँ अर्का उम्मेदवारका दावेदार देवेन्द्रराज कडेल प्रतिष्पर्धाबाट बाहिरिएका छन्।








