बोमलाल गिरी
नवलपुर, माघ १४ गते । दुई पदका लागि नवलपुरमा २६ बर्षका जेनजीदेखि ७० कटेका सम्मका ३६ जना चुनावी मैदानमा छन् । तीमध्ये ८ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी दलीय आधारमा प्रतिष्पर्धामा छन् ।
क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तिल बहादुर महत (तिलक) र रास्वपाका राजन गौतम मात्र अघिल्लो निर्वाचनका प्रतिष्पर्धी हुन् भने बाँकी सबै नयाँ अनुहार चुनावी होडमा छन् । महत तेस्रो पटक चुनावी मैदानमा हुँदा गौतम अघिल्लो चुनावमा प्रतिष्पर्धा गरेर पराजित उम्मेदवार हुन् ।
नेपाली कांग्रेसको बलियो र पकड क्षेत्र मानिएको क्षेत्र नं. १ मा कांग्रेसले १८ वर्षपछि स्थानीय उम्मेदवारलाई मैदानमा उतारेको छ । २०६४ देखि निरन्तर चुनाव जित्दै आएका कांग्रेसका पुर्व महामन्त्री एवं बीपी पुत्र डा. शशांक कोइरालालाई पाखा लगाउँदै कांग्रेसले १ नम्बरमा स्थानीय युवा बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको हो । बुलिङटारका घिमिरेको उम्मेदवारीसँगै यो क्षेत्रमा कांग्रेसका मतदाताले १८ वर्षपछि स्थानीय नेता उम्मेदवार पाएका छन् ।
यो निर्वाचन क्षेत्रमा २०४८ मा कांग्रेसका सुर्यभक्त अधिकारी, २०५१ मा महेन्द्रध्वज जिसी, २०५६ मा दामोदर बस्ताकोटी निर्वाचित भएका थिए भने २०५६ पछिका सबै निर्वाचनमा कोइरालाले जित हासिल गरेका थिए ।
२०६४ देखि स्थानीय उम्मेदवार दिन नसकेको आरोपका बाबजुद निर्वाचन जित्दै आएको कांग्रेसले यस पटक स्थानीय उम्मेदवारलाई अगाडी सार्दा मतदातामा उत्साह बढेको कांग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले दाबी गरे । यो क्षेत्रमा एमालेले भागिरथ सापकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लोकप्रसाद भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई उम्मेदवार बनाएका छन् ।
रास्वपाका गौतम अघिल्लो निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए भने एमालेका सापकोटा र नेकपाका भुर्तेल पहिलो पटक चुनावी प्रतिष्पर्धामा छन् । सापकोटा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् भने भुर्तेल अघिल्लो निर्वाचनमा प्रदेश सभामा पराजित भएका थिए ।
यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार डा. कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेर निर्वाचित हुँदा एमालेका कृष्ण पौडेल २५ हजार ४७ र रास्वपाका उम्मेद्वार गौतमले २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर २ मा एमालेका महतबाहेक सबै नयाँ अनुहार चुनावी प्रतिष्पर्धामा छन् । यहाँ १८ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सभापतिसमेत भइसकेका ओम बहादुर घर्तीलाई उम्मेदवार बनाएको छ भने नेकपाबाट गणेशमान महतो र रास्वपाबाट २६ वर्षीय मनिष खनाल उम्मेदवार छन् ।
एक पटक निर्वाचित र एक पटक पराजित महत तेस्रो पटक चुनावी मैदानमा छन् । महत २०७९ को संसदीय चुनावमा नवलपुर–२ बाट नेपाली कांग्रेसका विष्णुकुमार कार्कीसँग पराजित भएका थिए । त्यतिबेला कार्कीले ३६ हजार १३२ मत ल्याएर निर्वाचित हुँदा महतले ३४ हजार ११० मत ल्याएका थिए । रास्वपाका शालिकराम न्यौपानले ६ हजार ४४९ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए ।
तर, २०७४ को चुनावमा भने महत ३९ हजार ५३ मत ल्याएर कांग्रेसका विष्णुकुमार कार्कीलाई नै पराजित गरेका थिए । कार्कीले ३७ हजार ७२० मत पाएका थिए ।
उम्मेदवारी दर्तागर्दा उम्मेदवारले के भनेका थिए ? भिडयो हेर्नुहोस् ।








