पहाड चढ्दै नवलपुरका उम्मेदवार, स्थानीयद्वारा स्वागतसँगै खवरदारी

नवलपुर, माघ २९ गते । दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा उम्मेदवारहरू घरदैलोका लागि तराईबाट पहाड चढ्न थालेका छन् । भित्री मधेस र तराईसहित जिल्लाको ठुलो भूभाग पहाडी क्षेत्रमा पर्दछ । त्यही पहाडी क्षेत्रको मतले चुनाव जित्ने आँकलन गर्दै उम्मेदवारहरुले पहाडलाई प्राथकिता दिन थालेका छन् ।

पहाड चढेका उम्मेदवारहरूलाई स्थानीयले ठाउँ ठाउँमा फूलमाला र अबिरले स्वागत गरेका छन् भने सँगै चुनाव जितेपछि पहाडलाई चटक्क भुल्ने गरेको भन्दै आलोचना र खबरदारी पनि गर्ने गरेका छन् ।

घरदैलोमा आएका उम्मेदवारलाई मतदाताले बाटो, पुल, सडक स्तरन्नोती, फलफूल, तरकारी र अन्य कृषि बाली प्रबद्र्धनका लागि सिंचाई तथा गाउँ आयआर्जनका लागि सुठो प्रसोधन प्रविधिमा सहजिकरण गरिदिनु पर्ने जस्ता माग राखेको भारतपुरका मतदाता डोलराज रानाले बताए ।

विभिन्न राजनैतिक दलका उम्मेदवारले बिगतदेखि नै पहाडी क्षेत्रको मतलाई आफ्नो जितको सुनिश्चित हुने आधारका रुपमा लिँदै आएका छन् । यो पटक नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले जन संगठन, काँग्रेसले निरन्तर जितसहितको मजबुद जनाधारलाई जितको आधार मानेकको छ भने रास्वपाले गत निर्वाचनको मत परिमाणलाई सुरक्षित राख्दै युवा पुस्ताको मतलाई आफ्नो जितको आधार देखेको छ ।

 

नेकपाले भने अन्य दलहरुको प्रतिष्पर्धाको भिडबाट चुनाव जित्ने आँकलत गरिरहेको बताउँछ । कतिपय उम्मेदबारले भने पार्टीले अबलम्बन गरेका नीति, सामाजिक छवि, यक्तित्व र विकासका एजेण्डाले जित दिलाउने बताउँदै आएका छन् ।

२०४६ सालको राजनैतिक परिवर्तनपछि यहाँ नेपाली काँग्रेसका उम्मेदवारले पहाडी मतदाताको निर्णायक मतसँगै जित हाँसिल गर्दै आएका थिए । क्षेत्र नम्बर १ बाट कांग्रेसका सुर्यभक्त अधिकारी, दामोदर बस्ताकोटी, महेन्द्रध्वज जिसी र लगातार ४ पटक बिपी पुत्र डा शशांक कोइराला प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

त्यसैगरि २ नम्बरमा बहुदलीय व्यवस्थापछि नेकपा एमालेका उम्मेदवारहरूले राख्दै आएको जितको वर्चस्व दोश्रो संविधान सभामा काँग्रेसका महेन्द्रध्वज जिसी तथा गत २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार बिष्णु कार्कीले तोडेका थिए ।

अघिल्ला निर्वाचनहरूमा यहाँ एमालेका मझिलाल थारू थनेत, चन्द्रमणि खराल, जीवन कुमार श्रेष्ठ, कृष्ण पौडेल, तिल बहादुर महत क्षेत्रीले यहाँबाट चुनाव जितेका थिउ । यस्तै यहाँको दाउन्ने पूर्व सहित पश्चिम बर्दघाटको भूगोल समेटिएका बेला ३ नम्बर क्षेत्रबाट तत्कालिन नेकपा माओबादीका उम्मेदवार सीता बौडेल संबिधान सभा सदस्यमा नर्वाचित भएका थिए ।

बिगतको निर्वाचनमा भने यहाँ काँग्रेस, एमाले र रास्वपाबीच मुख्य प्रतिष्पर्धा देखिएको थियो । यस पटक काँग्रेसबाट ओम बहादुर घर्ती मगर, एमालेबाट तिल बहादुर महत, नेकपाबाट गणेशमान महतो, रास्वपाबाट मनिष खनाल, श्रम संस्कृति पार्टीबाट कमल चापागाईं लगायतकका उम्मेदवार चुनावी घरदैलोमा छन् ।

त्यसैगरी क्षेत्र नम्बर १ मा कांग्रेसका बालकृष्ण घिमिरे, एमालेका भागिरथ सापकोटा, नेकपाबाट लोकप्रसाद भुर्तेल र रासवपाबाट राजन गौतम घरदैलोमा व्यस्त छन् । चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार मतदाताकहाँ पुगेर मत मागिरहदा स्थानीयले भने दुबै निर्वाचन क्षेत्रमा काँग्रेस, एमाले, नेकपा र रास्वपा बीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरेका छन् ।

उम्मेदवारले पहाडलाई मत पाउने हिसावले प्राथमिकतामा राख्दा पहाडका वासिन्दा भने बिकास निर्माणमा पहाडी क्षेत्र पछि परेकाले हरेक उम्मेदवारको प्राथमिकता पहाडनै हुनु पर्ने बताउँछन् ।

जिल्लाको उत्तर पश्चिम पाल्पा सिमानाको राईकोटदेखि पूर्व गैँडाकोटको ढोडेनी सम्मको कालीगण्डकी उपत्यका तथा महाभारत पर्वत श्रृंखला अन्तर्गतका पहाड र बेसीहरू नवलपुरको १ र २ नम्बर क्षेत्रमा पर्दछन् । त्यसैगरि २ नम्बर क्षेत्रले पहाड, मधेस र तराईको त्रिबेणीस्थित भारतीय सिमाका बस्तीसम्म छोएको छ ।