बोमलाल गिरी
नवलपुर, फागुन २ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवलपुरका उम्मेदवारले चुनाव जिते तलव भत्ता नलिने र भ्रष्टाचार नगर्ने वाचा सहितको चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार दिपकचन्द्र वस्ताकोटी र २ का उम्मेदवार रुन कुमारी महतो (रुना)ले शनिवार पार्टी कार्यालय कावासोतीमा पत्रकार सम्मेलन गरी यस्तो प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
वस्ताकोटीले आफूले चुनाव जितेमा एक रुपैयाँ तलव नलिने र उक्त तलवबाट अक्षय कोष स्थापना गरी त्यसबाट आउने ब्याज खेलाडीहरुको हक हितमा सदुपयोग गर्ने प्रतिवद्धता जनाए । जिल्लामा जल, जंगल, खनिज र पर्यटनमा प्रचुर सम्भावना रहेको भन्दै वस्ताकोटीले त्यसको सदुपयोगमा विषेध ध्यान दिने बताए ।
उनले गैँडाकोटमा खण्डहर अवस्थामा रहेको भृकुटी कागज उद्योगलाई संग्राहलयको रुपमा विकास गर्ने योजना सुनाए । ‘‘यो उद्योगलाई राष्ट्रियकरण गरेर एक सय २७ जातजाति र एक सय २३ भाषाभाषीका जनताको भोषभुषा, धर्म, संस्कृतीको अवलोकन गर्न मिल्ने गरी संग्राहलय बनाउनु पर्छ,’’ वस्ताकोटीले भने, ‘‘त्यसो गर्दा पर्यटकीय क्षेत्रको रुपमा पनि विकास हुन्छ ।’’
हेर्नुहोस् भिडियो
त्यस्तै क्षेत्र नं. २ की उम्मेदवार महतोले आफू नष्ट हुन परे पनि भ्रष्ट नहुने प्रतिवद्धता जनाइन् । उनले आफू निर्वाचित भएमा पारिश्रमिक लिए पनि त्यसलाई छुट्टै कोष बनाएर सञ्चालन गर्ने योजना सुनाइन् । महतोले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरु कुनै दलसँग नमिल्ने भएकालेले पनि यो पार्टी अरुभन्दा फरक रहेको दाबी गरिन् ।
महतोले यस क्षेत्रको भौगोलिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, नदी कटान, पहाडी क्षेत्रमा पुग्न नसकेको विकास निर्माण तथा सम्भावनाहरुको उजागर गर्नु आफ्नो प्राथमिकता रहेको बताइन् ।
हेर्नुहोस् भिडियो









