बालेन लक्षित ओलीको टिप्पणी : पालिका चलाउन नसक्नेलाई देश जिम्मा दिन्नौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा नदिने बताएका छन्।

देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै उनले देश बनाउने सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरे।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उनले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको तर्क गरे।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेशको अर्थतन्त्र उकास्ने काम भएको सम्झाए। एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताए। उनले देशको एक–एक इन्च भूमिको रक्षा गरिने प्रतिबद्धता व्यक्त गरे।

एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको ओलीले स्पष्ट पारे। राणा शासनदेखि लडेर देशलाई यहाँसम्म ल्याइपुर्या।एको पार्टी कुनै कठपुतलीसँग डराएर पिठ्यूँ नफर्काउने उनको भनाइ थियो।

ओलीले भने, ‘एउटा पालिका चलाउन नसकेर फेल खाएर जानुपर्नेलाई देश चलाउने जिम्मा दिनुपर्ने रे, प्रधानमन्त्री बनाउने रे। यो देश मजाक गर्ने ठाउँ हो यो ? यो देश प्रयोगशाला हो कसैको?’

देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तीव्रता दिन एमालेले अगाडि बढाएको अभियानलाई बिना रोकतोक अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।