नवलपुर । नवलपुर क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार तिलक महतले विकासमा देखिएका समस्याको समाधानका लागि नीतिगत सुधारमा आफ्नो पहल निरन्तर रहने बताएका छन्।
मतदाता भेटघाटका क्रममा बोल्दै उनले सांसदको भूमिका केवल विकास बजेट ल्याउने मात्र नभई आवश्यक ऐन, कानुन र नीतिहरूलाई जनता मैत्री र विकास मैत्री बनाउनु पनि भएको बताए ।
महतले घरदैलो तथा मतदाता भेटघाटलाई तीव्र बनाइरहेका छन्। सोही क्रममा विनयी त्रिवेणी गाउँपालिका–१ र २ तथा मध्यविन्दु नगरपालिकाको अरुणखोलामा आयोजित कार्यक्रमहरूमा उनले विकास र नीतिगत सुधारबीचको सम्बन्धबारे धारणा राखे।
महतले भने, “सांसदको दुई प्रकारको भूमिका हुन्छ। एउटा आवश्यक ऐन, कानुन र नीतिहरूलाई जनताको हितमा परिमार्जन गर्दै विकासमैत्री वातावरण सिर्जना गर्नु, अर्को मतदाताको प्रत्यक्ष विकास चाहनालाई सम्बोधन गर्नु। म दुवै भूमिकामा सक्रिय रहँदै नवलपुरको समग्र विकासमा यहाँका मतदातासँगै रहनेछु।”
उनले विगतमा विकासका काममा देखिएका ढिलासुस्ती, नीतिगत अस्पष्टता र समन्वय अभावजस्ता समस्यालाई समाधान गर्न संघीय संसदमा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता जनाए। स्थानीय आवश्यकता अनुसार योजना निर्माण, पहाडी तथा तराई क्षेत्रको सन्तुलित विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने उनले बताए।
मतदाता भेटघाटका क्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, खानेपानी, सिंचाइ, रोजगारी सिर्जना र शैक्षिक पूर्वाधार सुधारका विषयमा सुझाव दिएका थिए। महतले ती सबै सुझावलाई आफ्नो कार्ययोजनामा समेट्ने प्रतिबद्वता ब्यक्त गरेका छन्।
उनले मतदाताबाट अपार माया, विश्वास र समर्थन प्राप्त भइरहेको उल्लेख गर्दै भने, “जनताले राखेको भरोसामा कतै पनि ठेस नपुग्ने गरी इमानदार र पारदर्शी ढंगले काम गर्नेछु।”








