‘बदलिएर आएको कांग्रेस नै नयाँ पार्टी हो’ (भिडियो)

नवलपुर, फागुन १५ गते । नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले जेनजी आनदोलनपछि सबैभन्दा बदलिएर नयाँ र युवा नेतृत्वसहित आएको पार्टी कांग्रेस मात्र भएको दावी गरेका छन् । हेलिकोप्टरमार्फत नवलपुरको दुम्किवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आएका उपसभापति शर्माले पुरानो कम्पनी जेनजीको भावनाअनुसार बदलिएर आएको दावी गरे ।

‘‘जेनजीले विकासमा, प्रशासनमा, राजनीतिक दल र तिनका अनुहार सबै क्षेत्रमा परिवर्तन चाहेका हुन्, उनीहरुले चाहेअनुसार नै नीति, नियत, विचार, नेतृत्व, दृष्टिकोण सबै बदलिएर आएकाले नयाँ पार्टी नेपाली कांग्रेस मात्र हो,’’ उपसभापति शर्माले भने, ‘‘त्यसैले अव देशको अनुहार बदल्नको लागि कांग्रेसलाई मतदान गर्नुहोला ।’’

उनले देशमा कहाँ समस्या छ, कहाँ काम गर्न समय लागेको छ भनेर एमआरआई गरे जसरी रिपोर्ट निकालेको बताए । भावि प्रधानमन्त्रीको रुपमा अघि सारिएका आफ्नो पार्टीका सभापति गगन थापाकै नेतृत्वमा प्रतिवद्धता पत्र तयार पारिएकाले अव पनि काम नभई भाषण मात्र हुने हो कि भनेर शंका गर्नु पर्ने अवस्था नहरेको शर्माले दावी गरे ।

‘‘विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति र भावि प्रधानमन्त्रीको उम्मेदवार बनाएर कांग्रेस नयाँ भएर आएको छ, त्यसैले कोही बदलिएको छ भने त्यो कांग्रेस मात्र हो । पुरानो कम्पनी रोज्नु पर्यो भने कांग्रेस, नयाँ र युवासहितको नेतृत्व रोज्नु पर्दा पनि कांग्रेस,’’ शर्माले भने ।

पुरानो हुँदैमा सबै खत्तम नहुने भन्दै उहाँले आफ्नो पार्टीलाई साहित्यकार बैरागी काँइलासँग तुलना गरे । ‘‘बैरागी काँइला पुरानो साहित्यकार हुनुहुन्छ तर उहाँले नयाँ पुस्तक निकाल्नु भयो भने त्यो पुरानो हुँदैन, नयाँ हुन्छ, त्यसैले समाजलाई नयाँ ढंगले लिएर जानका लागि कांग्रेस मात्र उपयुक्त विकल्प हो,’’ उहाँले भने ।

शर्माले नवलपुर क्षेत्र नम्बर–२ को विकासको जिम्मा कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीमार्फत भावी प्रधानमन्त्री गगन थापालाई दिन पनि मतदातासँग आग्रह गरे । नवलपुरको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि प्रतिनिधि सभामा ओमबहादुर घर्ती आवश्यक रहेको उनको भनाइ छ ।

“गगन थापालाई प्रधानमन्त्री बनाउँदै गर्दा प्रतिनिधि सभामा हामीलाई ओमबहादुर घर्ती चाहिन्छ,” उनले भने, ‘‘नवलपुरको समृद्धिको जिम्मा ओममार्फत गगनलाई दिनुहोस् ।” उनले कांग्रेस उम्मेदवार घर्तीले अघि सारेका योजना र प्रस्ताव व्यक्तिगत नभई अब बन्ने प्रधानमन्त्री गगन थापाको साझा योजना र प्रस्ताव भएको जिकिर गरे ।

हेर्नुहोस् भिडियो

नवलपुर–२ का कांग्रेस उम्मेदवार घर्तीले जिल्लाका समस्या पहिचान गरिसकेकाले प्राथमिकताका आधारमा समाधान गर्दै जाने बताए । उनले आफू निर्वाचित भएमा गण्डकी प्रदेशले गौरवको आयोजनाका रुपमा अघि सारेको विनयी त्रिवेणीदेखि कोरना नाका र गैँडाकोटदेखि त्रिवेणीसम्म नारायणी नदीमा तटबन्ध र करिडोरलाई उच्च प्राथमिकतामा राखेको बताए । त्यस्तै सुकुम्वासी समस्या, मध्यवर्तीका समस्या समाधान र आलोक चक्रपथलाई पनि प्राथमिकतामा राखेर संसदमा भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।