नारायणीमा पुल बनाइ मेघौली र पिठौली जोड्ने नेकपाका उम्मेदवार भुर्तेलको प्रतिवद्धता

नवलपुर, फागुन १८ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नवलपुर क्षेत्र नम्बर १ का उम्मेदवार लोकप्रसाद भूर्तेलले मेघौली र पिठौलीलाई नारायणी पुलले जोडिने बताएका छन् । चितवन नवलपरासीको स्थानीय आवश्यकता मेघौली र पिठौली जोड्ने घोसरघाट पुल निर्माण हरेक निर्वाचनमा उठ्ने बिषय हो ।

मौन अवधि सुरु हुनुअघि पत्रकार सम्मेलन गरी भूर्तेलले यो पुल निर्माणको योजनालाई आफ्नो पहिलो प्रथमिकताको बिषय बनाएको बताए । नवलपुरको मध्यभाग कावासोती र पश्चिम चितवनको ठूलो क्षेत्रलाई करिव ३ किमि दुरीमै जोडिदा दुई जिल्लाको बिकासमै कायापलट आउने भूर्तेलले बताए ।

‘‘निकुञ्ज छ कर्मचारीले टेर्दैनन् भन्नु वाहियात कुरा हो, म जनताका दैनिकीलाई सहजिकरण गर्न उम्मेदवार बनेको हूँ, संसदबाट जनताका पक्षमा नीति बनाएरै पनि नारायणीमा पुल हालिने छ,’’ उनले भने । अहिलेको पूर्वपश्चिम राजमार्ग नबन्दै पश्चिम त्रिवेणीदेखि माडी, ठोरी जोड्ने हुलाकी सडकको यो निकै चल्तीको घाट हो ।

पत्रकार सम्मेलनमा उम्मेदवार भूर्तेलले विभिन्न दलहरू सहित बृहद गठवन्धनमा रहेको नेपाली कम्युनिस्ट पार्टीबाट तारा चुनाव चिन्ह लिएर आँफू चुनावमा उठेको र जनताको साथ समर्थनले जित सुनिश्चित रहेको दावी गरे । राजनैतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, संविधानको रक्षा, आत्म निर्भर अर्थतन्त्रको निर्माण, अन्तर पुस्ता युवा लक्षित कार्यक्रम लगायतका प्रतिबद्धता सहिता नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको उनको भनाइ छ ।

यस्तै स्थानीय स्तरका जनअपेक्षा र आवश्यकता पूरा गर्न ओैधोगिक क्षेत्र निर्माण, वैज्ञानिक फोहर व्यवस्थापन, तटबन्ध, बिद्धुत, खानेपानी, सिंचाइ, कुलो, उत्तर दक्षिण सडक स्तरोन्नती, सुकुम्बासीका समस्या समाधान लगायतका योजना बनाई काम गर्ने उनको प्रतिबद्धता छ ।