दुई जना उम्मेदवार पक्राउ

मौन अवधिको दुरुपयोग गर्ने दुई जना उम्मेदवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव र पर्सा क्षेत्र नं २ का नेकपाका उम्मेदवार मनोज कुमार चौधरी रहेका छन् ।

मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका छन् । प्रतिनिधिसभा निर्वाचनको एक दिन अघि उनी पक्राउ परेका हुन् । उनी सिरहा सदरमुकाम नजिकबाट प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पिओ गाडीसहित पक्राउ परेका हुन् ।
उनको गाडीमा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेको छ। सो रकम बरामद गरेर यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरूलाई आवश्यक कारबाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै पर्सा क्षेत्र नं २ का नेकपाका उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरहनियार चोकमा नियमित चेकजाँचक्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा १० च १२५० नम्बरको रातो कार जाँच गर्दा बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला पारेको बताइएको छ ।

शंकास्पद वस्तु विस्फोटक पदार्थ रहेको आशंकामा अनुसन्धान भइरहेको छ । उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र एक जना चालक गरी चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाडी नेपाली सेनाको नियन्त्रणमा रहेको छ भने व्यक्तिहरू प्रहरीको निगरानीमा राखिएको छ ।