बोमलाल गिरी
नवलपुर, फागुन २२ गते । नवलपुरका दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अन्तर फराकिलो बनाउँदै लगेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका राजन गौतम र २ मा मनिष खनालले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
सुरुवातदेखि नै अग्रता बनाउँदै गएका रास्वपा क्षेत्र नम्बर २ का उम्मेदवार खनाललाई पहाडी क्षेत्रको मत गन्दा केही बेर एमालेका तिलक महतले पछि पारे पनि त्यो धेरैबेर टिक्न सकेन । त्यस लगत्तै रास्वापाका उम्मेदवारको मतान्तर फराकिलो बन्दै गएको छ ।
यो समाचार तयार पार्दासम्म क्षेत्र नम्बर १ मा गौतमले कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेसँगको मतान्तर झण्डै ६ हजार पुर्याएका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा पनि खनालको मतान्तर नेपाली कांग्रेसका ओम बहादुर घर्ती र एमालेका महतभन्दा झण्डै दुई हजारले बढी भएको छ ।
क्षेत्र नम्बर १ मा रास्वपाका गौतम चार पटकसम्म कांग्रेसका डा शशांक कोइरालाले जित्दै आएको बिरासत भत्काउने गरी निकट छन् । क्षेत्र नम्बर २ लाई एमालेले आफ्नो आधार क्षेत्र मान्दै आएको थियो ।
देशव्यापी जनलहर जस्तै नवलपुरमा पनि रास्वपाका नेता कार्यकर्ताले दुबै क्षेत्रमा जित सुनिश्चित देखिएको बताउँछन् । उनीहरु बिहान ११ बजे मतगणना सुरु भएदेखि नै निरन्तर मतगणना भएको कुमारवर्ती बहुमुखी क्याम्पर बाहिरको सडकमा बाक्लो संख्यामा उपस्थित भइ उत्सुक्ताका साथ नतिजा नियाली रहेका छन् ।
दुई निर्वाचन क्षेत्रको गणना दुई ठाउँमा मात्र भएकाले अन्तिम नतिजा आउन भोलि बेलुकासम्म कुर्नु पर्ने जिल्ला निर्वाचन अधिकृत लालप्रसाद शर्मा भुसालले बताए ।
नवलपुरको क्षेत्र नम्बर १ मा ५२ हजार ९५ मत र २ मा ५१ हजार ६४३ मत खसेको थियो । प्रतिनिधि सभामा दुई सिटका लागि यहाँ ३४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।









