प्रत्यक्ष तर्फ सबै क्षेत्रको मत परिणाम सार्वजनिक

काठमाडौं, फागुन २६ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित भएका छन् । यादवले १० हजार ४२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ मत र नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका छन् ।

यसअघि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार रहेका किशोरी साह कालोसूचीमा भएको उल्लेख गर्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएका  थिए । सर्वोच्च अदालतले  उक्त रिटमा सुनुवाइ गर्दै यही फागुन २९ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

साथै आयोगको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि विजेता घोषणा गरिएको हो ।

योसँगै सबै १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भएको छ । २७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभरी मतदान भएको थियो ।

प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । एक जना (महावीर पुन) स्वतन्त्र रुपमा जितेका छन् ।