रास्वपाले पायो दुई तिहाईको जनादेश

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते भएको चुनावबाट दुई तिहाई बहुमतको जनादेश पाएको छ । समानुपातिकको मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित निश्चित भएको हो ।

जस अनुसार रास्वपा दुई तिहाई नजिक छ । २७५ सदस्यीय संसदमा बहुमतका लागि १३८ सिट चाहिने भएपनि रास्वपाले १८२ सिट निश्चित गरेको छ, जुन बहुमत अर्थात १८४ सिट भन्दा दुई सिट मात्रै कम हो । प्रत्यक्ष तर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५१ लाख ३९ हजार २३५ मत पाएर ५७ सिट थप्ने छ ।

आयोगले सिट विभाजनका  लागि प्रयोग गर्ने ’सेन्ट लग  फर्मुला’ मा राखेर अहिले दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट गर्दा ५७ सिट पुग्ने देखिन्छ ।

समानुपातिकमा उसलाई ५७ सिट भाग लाग्दा रास्वपाको १८२ सिट हुन्छ । दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ । एक स्वतन्त्र सांसद महाविर पुन भने रास्वपाकै समर्थनसमेत पाएर निर्वाचित भएकाले तिनको समर्थन मिल्ने हो भने एक सिटको मात्रै कमी हुनेछ ।

रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो । समानुपातिकबाट ५७ सिट थप्नेछ ।

प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ ह्जार ७५९ मत पाएको छ । यस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।

प्रत्यक्षतर्फ ८ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ । अब नेपाल कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ ।

चार महिना अघि खुले पनि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले उसले समानुपातिकमा ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ । अब उसले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ ।

प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउने सम्भावना छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ भोट पाएको छ ।

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।