सांसद छनोटको विषयले श्रम संस्कृति पार्टीमा किचलो, हर्कले दिए निष्काशन गर्ने चेतावनी

थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि किचलो सुरू भएको छ । किचलो बढेर पार्टीमा छोड्ने र निकाल्ने सम्म पुगेको छ । अध्यक्ष हर्क साम्पाङले फेसबुकमा स्टाटस लेखेर समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्‍क्तिलाई सचेत गराउँदै निष्काशन गर्नेसम्मको चेतावनी दिएका छन् ।

हर्कको चेतावनी छ, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’

हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको साम्पाङ नेतृत्वको पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ । तर विवाद चर्किँदै गएको छ ।

महिला क्लस्टरमा १६ नम्बर सूचीमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरू भइसकेको भन्दै आफूलाई सांसद नबनाए राम्रो नहुने चेतावनी हर्कलाई दिएकी थिइन् ।

उनले भनेकी छन्, ‘मभन्दा संघर्ष गरेर आएको कोही छ भने म छाडिदिन्छु । तर, जनजातिमा अरु गयो भने राम्रो हुँदैन । हर्क साम्पाङ ज्यूले यो कुरा बुझ्नुपर्छ ।’ त्यसपछि हर्कले निकाल्ने चेतावनी दिएका हुन् ।

निर्वाचन आयोगमा ११० जनाकै समानुपातिक उम्मेदवारको सूची पठाएको श्रम संस्कृतिले प्रत्यक्षमा ३ सीट (पुरुष) जितेको छ । प्रत्यक्ष र समानुपातिक गरेर श्रम संस्कृतिको सांसद संख्या ७ पुग्छ ।

अब साम्पाङले ३३ प्रतिशत महिला सुरक्षित गर्नुपर्ने हुन्छ । कम्तीमा दुईजना समानुपातिक सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टर पनि मिलाउनुपर्ने हुन्छ ।तर विवाद बढेर गएको छ ।