नवलपुर, चैत ११ गते । नवलपुरमा सञ्चालन भइरहेको जापनिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियानले लक्ष्य पुरा गरेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । फागुन २९ गतेदेखि सञ्चालन भएको अभियानमा एक लाख १४ हजार २३३ जना (७६.१६ प्रतिशत)ले खोप लगाएका कार्यालयले जानकारी दिएको छ ।
जसमध्ये ६६ हजार ७९३ महिला र ४७ हजार ४४० पुरुष रहेको कार्यालय प्रमुख डा केशवप्रसाद चापागाईंले जानकारी दिए । हिजो चैत १० गतेसम्म ३५ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने अभियान सञ्चालन भएको थियो ।
जिल्लामा यो उमेर समूहका नागरिक एक लाख ४५ हजार रहेकोमा ५ हजारले लगाउन नमिल्ने र २० हजारको हाराहारिमा देश बाहिर रहेको अनुमान कार्यालयको थियो । यो हिसावले झण्डै एक लाख १५ हजारले खोप लगाउनुलाई लक्ष्य अनुरुप भएको मान्न सकिने चापागाँईंले बताए ।
यो अभियानमा छुटेकाहरुले आगामी शुक्रबारसम्म मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र जिल्ला अस्पताल देवचुलीमा खोप लगाउन सक्ने उनको भनाइ छ । जिल्लाका सबै आठवटै पालिकामा एकसाथ सञ्चालन गरिएको अभियानमा यो सहभागितालाई उल्लेख्य मान्न सकिने कार्यालयको भनाइ छ ।
देशभरमै नवलपुरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढी भएको पाइएपछि जिल्लाभरी निःशुल्क खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लामा हालसम्म ३८ जनालाई यो सङ्क्रमण देखिएको छ भने १४ जनाको मृत्यु भइसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमै १४ जनामा सङ्क्रमण देखिदा ६ जनाको मृत्यु भइसकेको छ ।
जापानिज इन्सेफलाइटिस इन्फ्लुन्जा सङ्क्रमण भएको हाँस, चराचुरुङ्गी, सङ्गुर, बुङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्ने चिकित्सकको भनाइ छ ।









