नवलपुरमा बैंक र ऋणी विवाद : घर लिलाम भएपछि संघर्ष समितिले गाड्यो झण्डा (भिडियो)

बोमलाल गिरी
नवलपुर, चैत ११ गते । एनआईसी एशिया बैंक, दलदले शाखाले घरधनीलाई थाहै नदिइ घर लिलाम गरेर आफ्नो नाममा लिइ अर्कै व्यक्तिलाई बेचेको भन्दै मिटरब्याज विरुद्ध किसान मजदुर संघर्ष समिति, नवलपुरले घरमा झण्डा गाडेको छ ।

संघर्ष समितिले कावासोति–११ कुडौलीस्थित नुनीमाया गुरौंको घरमा झण्डा गाडेर गुरौ परिवारलाई बसोवास गर्न भनेको हो । प्रेम बहादुर गुरौकी श्रीमती नुनीमायाले आठ वर्ष अघि बैंकबाट २५ लाख रपैयाँ ऋण लिएकोमा हालसम्म ब्याज मात्र ४० लाख जति तिरिसकेको प्रेम बहादुरले बताए ।

तर प्राप्त कागजातहरुले बैंकलाई १७ लाख नगद र बैंकका कर्मचारीमार्फत एउटा मोटरसाइकल बेचेर ब्याज तिर्दा पनि सावा एक रुपैयाँ पनि नघटेको संघर्ष समितिका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष शारदा पौडेलले बताइन् ।

संघर्ष समिति पीडितले ऋण लिएको समय, अहिलेसम्म तिरेको ब्याजको स्टेटमेन्ट र थप जानकारी माग्न जाँदा बैंकले नदिएको र थप जानकारी लिन पर्ने भए केन्द्रिय कार्यालय जान भनेकाले भोलि आफूहरु काठमाडौं जाने तयारी गरेको संयोजक पौडेलले बताइन् । उनले बैंकबाट लिएको ऋण रकम थप तिर्न पर्ने भए तिर्ने तर घरमा बस्न पाउनु पर्ने बताइन् ।

तर बैंकले भने कुनै पनि बैंकले प्रकृया नपुर्याई यस्तो काम गर्नै नसक्ने बताएको छ । एनआइसी एशिया बैंक दलदले शाखाका प्रमुख विकेक अधिकारीले बैंकले सबै प्रकृया पुर्याएर घर लिलाम गरी अर्कैलाई बेचेको बताए । उनले लिलाम भएको विवरण लगायतका सूचना चाहिएमा कर्जा असुली विभागमा जान सुझाव दिए ।

बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसकेर नुनीमाया विगत दुई वर्षदेखि दुबईमा छिन् । आफूले दुबईबाटै नियमित ब्याज तिरिरहेको उनले टेलिफोनमा बताइन् । ‘‘दलाल मार्फत भिजिट भिसामा चार लाख खर्च गरेर यहाँ आएँ, आइडी कार्ड नपाएर दुई महिनासम्म कामै पाइन,’’ दुबईबाट नुनीमायाले भनिन्, ‘‘त्यसपछि नियमित ब्याज तिरेकै थिए, हामी सम्पर्कमा हुँदाहुँदै बैंकले एक्कासी घर लिलाम गरेर अर्कैलाई बेचिसकेछ ।’’

एउटै घरमा चारपटक ताला
नुनीमाया विदेशमा छिन् भने उनका श्रीमान प्रेम बहादुर घरमा ताला लगाई अर्कै घरमा बस्ने गरेका छन् । त्यहि समयमा चितवनको भरतपुर–१० का प्रकाश क्षेत्री र सृष्टि थापा क्षेत्रीले बैंकबाट घर किनी प्रेम बहादुरले लगाएको ताला फोडेर आफूले लगाए ।

क्षेत्री परिवारले लगाएको ताला संघर्ष समितिले फोड्यो र नयाँ तालाचावी गुरौलाई दियो । अहिले फेरी यो घरमा गुरौले ताला लगाएका छन् । यसबारेमा बुझ्नका लागि बैंकबाट जग्गा किनेका क्षेत्री परिवारसँग भने सम्पर्क हुन सकेन ।

यो घटनाले बैंक विवादबाट मुक्त हुने तथा गुरौ र क्षेत्री परिवारबीच बिबाद हुन सक्ने देखिएको छ । यसबारे आफूहरुलाई केही जानकारी नआएको भन्दै जिल्ला प्रहरी कार्यालयले पीडित पक्षलाई न्यायका लागि अदालत जान सुझाव दिएको छ ।

‘‘हामीलाई यसबारे केही जानकारी आएको छैन, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खण्डकाले भने, ‘‘जो पिडीत हो त्यो पक्ष न्यायका लागि अदालत जानु उपयुक्त हुन्छ ।’’

हेर्नुहोस् भिडियो