बोमलाल गिरी
नवलपुर, चैत १३ गते । मुलुक संघीय संरचनामा गएपछि नवलपरासी जिल्लालाई टुक्राएर सतहत्तरौं जिल्लाको रुपमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बनाइयो । १० वर्षसम्म पनि संविधान संसोधन गर्न नसक्दा बोलिचालिमा नवलपुर भनिए पनि सरकारी कामकामजमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लेख्नु पर्ने निक्कै झन्झटिलो प्रकृाया हटेको छैन ।
त्यसैले नवलपुर–१ बाट निर्वाचिन प्रतिनिधि सभा सदस्य राजन गौतमले जिल्लाको नामाकरणलाई पहिलो प्राथमिकता दिने बताएका छन् । समाचार सेवासँग कुरा गर्दै गौतमले तत्कालका लागि सरकारी कागजात, साइनबोर्ड र सार्वजनिक प्रयोगमा ‘नवलपुर’ नामलाई प्राथमिकता दिन निर्देशन दिने र जिल्लाको नाम संसोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने बताए ।
३४ वर्षपछि कांग्रेसको विरासत भत्काउँदै सिंहदरवार छिरेका गौतमले नवलपुरका पहाडी क्षेत्रमा प्रशासनिक पहुँचको कमी, बेरोजगारी र युवाको पलायन, नारायणी नदी कटान, सुकुम्बासी समस्या, कृषि उत्पादनको बजार अभाव, जीर्ण उद्योग तथा संरचना जस्ता समस्या पहिचान गर्नु भएको छ । यी समस्याहरुलाई अल्पकालिन र दिर्घकालिन योजना बनाई जिल्लाको विकास गर्ने उनको योजना छ ।
पहाडी क्षेत्रमा तत्काल अस्थायी सेवा केन्द्र सञ्चालन गर्ने, कटान रोक्न तटबन्ध र आपतकालीन बजेट तर्जुमा गर्ने, सुकुम्बासीको पहिचान गरी अस्थायी व्यवस्थापन गर्ने, कृषि उपजमा न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र युवाका लागि सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने उनका तत्कालिन योजना हुन् ।
त्यस्तै दीर्घकालीन समाधानका लागि पहाडी क्षेत्रमा सेवा पहुँच र सुशासनका लागि स्थायी इलाका प्रशासन कार्यालय स्थापना गर्ने, प्रशासनिक सरलता, पहिचान र ब्रान्डिङका लागि एकीकृत नाम प्रयोग गर्ने तथा स्थानीय, प्रदेश र संघीय तहबीच समन्वय गरेर कार्यान्वयन गराउने उनले सुनाए ।
आर्थिक सुधारका लागि जिल्लालाई कृषि, पर्यटन र उद्योगको केन्द्र बनाउन सकिने उनको भनाइ छ । ‘‘देवघाट र गैँडाकोट क्षेत्रलाई धार्मिक तथा आन्तरिक पर्यटन केन्द्रका रूपमा विकास गरिनेछ, होमस्टे, इको–टुरिजम र स्थानीय संस्कृति प्रवद्र्धन गरिनेछ,’’ गौतमले भने, ‘‘साना तथा मझौला उद्योगमा लगानी आकर्षण गरिनेछ ।’’
निर्माण, कृषि–प्रशोधन, पर्यटन र साना व्यवसायका लागि छोटो अवधिका तालिम सञ्चालन गरी रोजगारी वृद्धि गर्ने गौतमले बताउनुभयो । ‘‘होमस्टे, नेचर गाइड, रेस्टुरेन्ट, यातायातमा स्थानीय युवालाई संलग्न बनाई रोजगार बनाइने छ,’’ उनले भने, ‘‘अदुवा, अमृसो, तरकारीका लागि संकलन केन्द्र र न्यूनतम समर्थन मूल्य; प्रशोधन उद्योगमा स्थानीयलाई प्राथमिकता दिएर रोजगारमूलक बनाइनेछ ।’’
खण्डहर अवस्थामा रहेको गैँडाकोटको भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्ने तथा एक वडा–एक उत्पादन कार्यक्रमलाई ब्रान्डिङ गर्ने उनको योजना छ ।
शिक्षा शास्त्रसंगै व्यवस्थापन शास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका गौतम हाल विद्यावारिधी अध्ययनरत छन् । करिब २० वर्ष शिक्षाक्षेत्रमा सक्रिय रहँदै २८ वर्षकै उमेरमा देवचुली क्याम्पसको प्रमुख भएका गौतम २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भई २४,३०५ मत प्राप्त गरी नेपाली कांग्रेसका डा शशांक कोइरालासँग दुई हजार ७६२ मतान्तरले पराजित भएका थिए ।
तर दोस्रो प्रयासमा ५० हजार ९४५ मत प्राप्त गर्दै प्रदेशकै सर्वाधिक ३४,६५२ मतान्तरले कांग्रेसका बालकृष्ण घिमिरेलाई पराजित गर्दै उनी निर्वाचित भए ।
२०७९ माघदेखि पार्टीको गण्डकी प्रदेश सभापतिको जिम्मेवारी रहेका उनले २०७८ सालमा नेपाल सरकारबाट ४० वर्षमुनिको युवाका रूपमा ‘युवा प्रतिभा सम्मान’ प्राप्त गरेका थिए । उनले अन्तर्राष्ट्रिय युवा संस्था नेपाल जेसीजमा सन् २०२१ मा राष्ट्रिय उपाध्यक्षको रूपमा काम गरिसकेका छन् ।








