पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि, पेट्रोलभन्दा डिजेल महंगो

नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ। यसअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढेको हो।

तर पेट्रोलको भने यथावत राखिएको निगमले जनाएको छ। पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेल २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ। पहिलो वर्गमा भने २३४.५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ।

मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ। इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।