रास्वपालाई बाबुरामको चेतावनी: प्रदेश सभा खारेज र संघीयता भत्काउने निर्णय गरे ठूलो भूल हुनेछ

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा खारेज गर्ने र संघीयता भत्काउने निर्णय गरेको भए त्यो ठूलो भूल हुने टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् रास्वपाकाे प्रस्तावबारे बाेलेका हुन् ।

भट्टराईले  फेसबुकमा लेखेका छन्, ‘नयॉं सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुनेछ। विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय वीचमा ठूलो विश्वासको संकट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्नसक्छ।’

उनले जातीय/राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त हाम्रो मुलुकमा लामो बलिदानीपूर्ण संघर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय-क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्ने पनि उनले बताए।

‘जुन कसैको पनि हितमा हुनेछैन,’ उनले भने, ‘त्यसैले ‘नदुखेको कपाल डोरी लगाएर दुखाउनु’ सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल ‘चुपचाप सुशासन र विकास’ तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी।’

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनमा उपसभापतिसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजी र स्थानीय तह एकतिहाइ कटौती गरी संघीय संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव अघि सारेपछि अहिले विभिन्न पार्टीहरूले विरोध गरिरहेका बेला बाबुराम पनि बाेलेका हुन् ।