बोमलाल गिरी
नवलपुर, असार १३ गते । ‘‘चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका सातवटा होटलमध्ये टाइगर टप्समा बस्नका लागि कोठा पाउन विदेशी पाहुनाले चार वर्षसम्म कुर्न पथ्र्यो, एक डेढ वर्षमा त भाग्यमानीले मात्र पाउथ्यो,’’ होटलमा २३ वर्ष काम गरेका डीबी चौधरीले पुराना दिन सम्झदै भने, ‘‘२० कोठा र ६० बेडरुम रहेको यहाँ ४० वर्ष अगाडि एक जनाले एउटा कोठाको ३४० डलर तिर्नु पथ्र्यो ।’’
होटलका प्रशासकीय प्रवन्धक रामसिंह गुरुङ्गका अनुसार यो होटलले ‘लिज ल्याण्ड’का लागि डेढ करोड र निकुञ्ज प्रवेश शुल्क, सफारी शुल्क लगायत गरेर वार्षिक पाच÷छ करोड राजश्व सरकारलाई तिथ्र्यो ।
वि.सं. २०२१ सालमा ब्रिटिस नागरिक जिम एडर्वड्स र अमेरिकन नागरिक वान्ना र केलीनले टाइगर टप्स हन्टिङ कम्पनीको नाममा सुरु गरेको यति चर्चित र सरकारलाई राम्रै राजश्व तिर्ने होटल वि.सं. २०६९ सालदेखि बन्द छ ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना (वि.सं.२०३० सालमा) हुनुभन्दा अघि खुलेको यो होटल १३ वर्षदेखि बन्द हुँदा नेपालको पर्यटन इतिहासको सांस्कृतिक सम्पदा भएपनि मक्किएरै उभिइरहेका ती संरचना भताभुंग छन् । भवन, काठका कुटीहरू र अन्य संरचनाहरू मर्मत अभावका कारण जीर्ण बन्दै गएका छन् । हिजो सानले उभिएका विशिष्ट डिजाइनका घरहरू भत्केका छन् । टिनको छानो चुहिएको छ । गाह्रो जीर्ण छ । खर कुहिएर नष्ट भइसक्यो । मान्द्रो धमिराले खाइसक्यो ।
तर पनि होटलले १३ जना कर्मचारीलाई तलव दिएर कुरुवा राखिरहेको छ । ‘‘बन्द भएकै यति लामो समय भइसक्यो, अहिले पो यस्तो भयो, त्यतिबेला यसको शान नै अर्कै थियो,’’ २०४४ सालदेखि काम गर्दै आएका होटल हेरालु जगत थापाले भने, ‘‘विश्वका साहसिक र जंगल सफारीमा रुचि राख्ने मनग्य धन भएका पर्यटक विमान र हेलिकोप्टर चार्टर गरेर मेघौली विमानस्थल आउँथे, त्यहाँबाट हात्तिमा सवार गराएर रिउ र रापती नदी तराउँदै टाइगर टप्स ल्याइन्थ्यो ।’’
सन् १९६१ मा बेलायतकी महारानी एलिजाबेथ र राजकुमार फिलिप नेपाल आउँदा चितवन सिकारमा लैजान मेघौलीमा विमानस्थल निर्माण गरिएको थियो । जुन वि.सं.२०६७ सालदेखि बन्द छ ।
लोपोन्मुख एकसिंगे गैँडा र पाटे बाघको चोरी सिकारी बढेको भन्दै २०६९ असार मसान्तदेखि सरकारले चितवन राष्ट्रिय निकुञ्ज भित्रका टाइगर टप्स होटलसहित मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट र टेम्पल टाइगर सहितका होटल, रिसोर्ट र लजको नवीकरण बन्द गरेपछि यी होटल बन्द भएका हुन् ।
त्यसबाहेक निकुञ्ज भित्रका होटलमाथि काठको चोरी र बेश्याबृत्ति गराउँने गरेको आरोप लगाइएको थियो । तर यो निराधार आरोप हो भन्छन् टाइगर टप्सका प्रशासकीय प्रवन्धक रामसिंह गुरुङ्ग । निकुञ्ज बाहिर रहेका केही स्वार्थ समूहको लविङ्गका कारण नविकरण नभएर होटल बन्द भएको र बन्द हुँदा सरकारले करोडौं रुपियाँ राजश्व गुमाएको उहाँको भनाई छ ।
‘‘ल्याण्ड लिज, प्रवेश शुल्क र राजश्व रकमबाट सरकारले करोडौं रुपियाँ गुमाएको छ, निकुञ्जका होटल बन्द हुँदा चितवनको मेघौली विमानस्थल पनि बन्द भयो, खर्चालु पर्यटक भारत र अफ्रिकातिर मोडिए,’’ गुरुङ्गले भने, ‘‘स्थानीय थारु, बोटो, कुमाल लगायत ३०० जना कामदारको रोजगारी गुम्यो ।’’
टाइगर टप्स स्थापना हुँदा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएकै थिएन, निकुञ्ज ऐन बनेकै थिएन । र, त्यो टाइगर टप्स नै थियो, जसले २०३० सालमा संरक्षणकेन्द्रित पर्यटन नीति बनाएर निकुञ्ज स्थापना गर्न सरकारलाई सघाएको थियो । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९) र चितवन राष्ट्रिय निकुञ्ज नियमावली (२०३०) अनुसार सरकारी अनुमति लिएर निकुञ्जभित्रै सञ्चालन गरिएको थियो यो होटल ।
भित्रकाले मात्र कमाए, निकुञ्ज भित्रका होटलहरु बन्द गराइएमा पर्यटकहरू बाहिरका होटल (सौराहा) आउँछन् भन्ने सोचले निकुञ्ज बाहिरका होटल सञ्चालकहरूले यसलाई साथ दिएको र अहिले त्यो घातक भएको बताउँछन्, २३ वर्ष होटलमा काम गरेका होटल एसोसियसन अफ नेपाल (हान) नवलपुरका अध्यक्ष डीबी चौधरी ।
‘‘अहिले भित्रका होटल बन्द हुँदा सबैभन्दा बढी असर सौराहामा परेको छ, भित्र र बाहिरका होटललाई जोड्ने पुल भाँचिएको छ,’’ चौधरीले भने, ‘‘नेपालमै वाइलड लाइफ टुरिजम बन्द भएको सन्देशले निकुञ्जमा रमाउने सौखिन पर्यटक अफ्रिका डाइभर्ट भएका छन् ।’’ वाइल्ड लाइफ टुरिजम सुरु गर्ने दक्षिण एशियाको पहिलो होटल टाइगर टप्स थियो भने सन् १९८२ मा पहिलो पटक अन्तराष्ट्रिय हात्तिपोलो पनि यसैले सुरु गरेर विश्वव्यापी चर्चा कमाएको थियो ।
क्षेत्रीय होटल संघको पूर्व अध्यक्ष सुमन घिमिरे पनि नेपालमा सफारी टुरिजम सिकाउने र गुणस्तरीय तथा खर्चालु पर्यटक भित्राउने यही होटल भएको बताउँछन् । ‘‘पर्यटकहरु सफारी टुरिजमका लागि टाइगर टप्स नै जान्थे, निकुञ्जले प्रचार प्रसार गर्न नसक्दा त्यसको असर अहिले पनि देखिएको छ,’’ घिमिरेले भने ।
तर नीजि क्षेत्रले चाहेर मात्र नभई राज्यको नीतिनियम अनुसार नै निकुञ्ज भित्रका होटल बन्द भएको उनको भनाइ छ । ‘‘केही व्यक्ति लागे होलान् तर समग्र सौराहाका होटल व्यवशायी बन्द गराउनु पर्छ भनेर लागेनन्, किनकी त्यहाँ खर्च गर्ने पर्यटकलाई सौराहाका होटलले धान्नै सक्दैनथे,’’ घिमिरेले भने ।
निश्चिम मापदण्ड बनाएर फेरी सञ्चालन गर्न दिनुपर्ने उहाँको सुझाव छ । नीजि क्षेत्र पनि अहिले पुनः होटल सञ्चालनका लागि लविङ गरिरहेको पाइएको छ । सरकारले पुनः निर्णय गरेर सञ्चालन गर्न दिएमा आफुहरु बाधक नबन्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जाले बताए ।
‘‘त्यतिबेला इजाजतपत्र नविकरण नहुनुका विविध कारण छन्, कतिपय अवस्थामा भित्रकाले मात्र कमाए भन्ने सोच सौराहाका होटल व्यवशायीमा पनि नदेखिएको होइन,’’ पुर्जाले भने, ‘‘नजिकबाट जंगली जनावर हेरेर रमाउने र डलरमा खर्च गर्ने पर्यटक अन्तै मोडिएको सुनिएको छ ।’’
राष्ट्रिय निकुञ्ज ऐन २०२९ को दफा ३ तथा ६ र निकुञ्ज नियमावली २०३० को दफा ३ मा निकुञ्ज आरक्षभित्र सेवा सुविधा सञ्चालन गराउन चाहेमा टेन्डर गर्नसक्ने र ऐनको दफा ३ ख (२) मा वातावरण र वन्यजन्तुलाई हानि नोक्सानी नपुग्ने गरी होटल, लज, सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उल्लेख छ । तर त्यसको प्रयास भएको देखिदैन ।
हेर्नुहोस् भिडियो









