गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु 

नवलपुर, साउन ११ गते । नवलपुरको गैँडाकोट नगरपालिका–१० अकलामाई मन्दिर नजिकै अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु भएको छ ।

अचेत अवस्थामा फेला परेका महिलालाई स्थानीयले खबर गरेलगत्तै अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले उपचारका लागि नगर अस्पताल भेडाबारी पठाइएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

मृतकहरूमा बागलुङ जैमिनी–९ घर भई गैंडाकोट–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैँडाकोट–१० स्थित गाई फार्ममा काम गर्ने ४५ वर्षीया कान्छी राई रहेका पण्डितले जानकारी दिए । प्रहरीले घटना शंकाष्पद रहेको भन्दै अनुसन्धान गरिरहेको जनाएको छ ।