विराटनगर। प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले सोमबार सपथ लिने भएका छन् । ६० जना सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबैको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।
प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउने समय सीमा आजसम्मका लागि थियो । समय सीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश १ मा बहुमतको सरकार गठन गर्न ४३ सांसद आवश्यक पर्छ ।
यसैबीच प्रदेश १ को मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो बन्ने सहमति भएको छ । पहिलो चरणमा एमालेका कार्की मुख्यमन्त्री बन्ने छन् भने दोस्रो कार्यकाल आफू मुख्यमन्त्री बन्ने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आंबोले बताएका छन् ।









