एमालेका हिक्मत कार्की बने प्रदेश १ का मुख्यमन्त्री

काठमाडौं । नेकपा एमालेका हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन । प्रदेश सभाका ६० सांसदहरूको समर्थनप्राप्त गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार पद तथा गोपनीयताको शपथ लिने छन् । उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् । यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एकीकृतबाट राजेन्द्र राई मुख्यमन्त्री बनिसकेका छन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कार्की एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन् । ओलीकै निर्वाचन क्षेत्र झापा ५ (१) बाट लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित कार्की पार्टीभित्रबाट सर्वसम्मत मुख्यमन्त्री पदका उम्मेदवार बनेका थिए ।