प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभामा अभूतपूर्व समर्थन: विपक्षमा २ मत मात्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अत्याधिक समर्थन सहित विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा २६८ जना सांसदले मतदान गरेका छन् ।

आजको बैठकमा २७० जना उपस्थित थिए । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।