एमालेका राजेन्द्रसिंह विष्ट सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सत्ता साझेदार गठबन्धन दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । रावलले आफूलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गर्नका लागि २९ जना प्रदेश सभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

प्रदेश सभामा तेस्रो ठूलो दल एमालेबाट १०, नेकपा माओवादी केन्द्रबाट ११, नागरिक उन्मुक्ति पार्टीबाट सात र राप्रपाबाट एक जनाको प्रतिनिधित्व रहेको छ । मुख्यमन्त्री नियुक्त भएपछि रावलले केही दिनभित्रै सरकोको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले गर्ने सत्ता साझेदार गठबन्धन दलबीच सहमति भएको छ । अढाई वर्ष रावल र बाँकी अढाई वर्ष माओवादी केन्द्रका खगराज भट्ट मुख्यमन्त्री बन्नुहुने सहमति गरिएको छ । यसैगरी, माओवादीले सभामुख र नागरिक उन्मुक्ति पार्टीले उपसभामुख प्राप्त गर्ने केन्द्रमा सहमति गरिएको थियो ।

सरकार गठनका लागि निर्णायक नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकार गठनबारे ढिलो गरी निर्णय गर्दा दाबी पेश गर्ने समयको अन्तिम समयसीमामा रावलले दाबी पेस गरेका थिए ।