जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक, एक तथा स्वतन्त्रसहित ६३ प्रदेश सांसदको समर्थन छ ।
यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । निवर्तमान सभामुखसमेत रहेका यादव बारा क्षेत्र नं १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आधा–आधा कार्यकाल गर्ने सहमति भएको छ । सोही सहमति अनुसार जसपाले पहिलो कार्यकाल नेतृत्व गर्ने अवसर पाएको हो । यादवले आधा कार्यकालपछि जनमत पार्टीलाई मुख्यमन्त्री हस्तान्तरण गर्नु पर्नेछ ।








