मनोज पण्डित नालापानी युद्धमाथि फिल्म बनाउँदै

काठमाडौं । सन् १८१४ मा नेपाल र अंग्रेजबीच भएको नालापानी युद्धमाथि आधारित रहेर निर्देशक मनोज पण्डितले फिल्म निर्माण गर्ने भएका छन् । दुई वर्षपछि फिल्मको छायांकन सुरु गर्ने उनको योजना छ ।

बेलायती साम्राज्यविरुद्धको कथावस्तुमा आधारित भारतीय फिल्म ‘आरआरआर’ले गोल्डेन ग्लोब्सको मौलिक गीत विधामा अवार्ड जितेको र सरकारले पुनः पृथ्वीजयन्ती मनाएको सन्दर्भमा फिल्म बनाउने घोषणा आफूले गरेको उनले जानकारी दिए ।

‘आरआरआरले अवार्ड जित्दा मैले पनि बेलायती साम्राज्यविरुद्धको कथालाई पर्दामा देखाउन सक्छु भन्ने लाग्यो । यो राम्रो संयोग भयो’ पण्डितले भने, ‘काम सुरु गर्छु । फ्लोरमा जान दुईतीनवर्ष लाग्छ ।’ नालापानीको युद्ध पुर्खाले लडेको लडाइभन्दा पनि अनुभव भएको तर्क उनको छ । यसअघि नालापानी शीर्षकमा फिल्म बनेपनि शीर्षक चाहिँ अरु केही निधो गर्ने उनले जनाए ।