काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएङ्बका हुन् । उनले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताए ।
चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको उनको भनाइ थियो । उनले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको गुनासो गरे ।
कुनैपनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिबाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको उनको भनाइ छ । अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५÷६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरे ।
आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरुले काम गर्न नदिएको केसीको भनाइ छ । उनले आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिवद्धता जनाए ।









