प्रचण्ड र ओलीबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा सकस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुरा निमल्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भएको छ । मन्त्रालयको भागबण्डामा कुरा नमिलेका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

प्रचण्डको मन्त्रिपरिषदमा अहिले ७ जना मन्त्री छन् । त्यसमा पनि ४ मन्त्रीको कार्यभार नै तोकिएको छैन । विनाविभागीय मन्त्रीहरु काम नपाएर छटपटीमा रहेका छन् भने मन्त्री हुन खोज्नेको दौडधुप पनि चर्को भइरहेको छ ।

मन्त्रिपरषदमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्ने तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज गठबन्धनको बैठक बस्ने सहमति भएको हो । उक्त सहमति अनुसार आज बस्ने भनिएपनि समय भने किटान भइसकेको छैन ।

सत्ता गठबन्धनवीच मन्त्रिपरिषद् विस्तारको अलवा सभामुखको चुनावका विषयमा पनि छलफल हुनेछ । माघ ५ गते सभामुखको चुनाव हुँदैछ । सभाुमखको चुनावअघि मन्त्रिपरिषद् विस्तारमा एमाले अध्यक्ष ओलीले रुची नदेखाएको पनि बताईएको छ ।

त्यसैगरी, प्रधानमन्त्री प्रचण्डले माघ ३ गते सर्वदलीय बैठक बोलाउने पनि भनेका छन् । उक्त बैठकको पूर्वतयारीका लागि पनि गठबन्धनको बैठक बस्न लागेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकार भनेर बोलेपछि एमाले भने सशंकित भएको छ ।