दाङ । लुम्बिनी प्रदेश सरकार गठनमा देखिएको असन्तुष्टि सभामुख र उपसभामुख चयनमा देखिएको छ। दुई दल र दुई स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरीमाथि दबाब सिर्जना गर्न नागरिक उन्मुक्ति पार्टीले उपसभामुख पदमा उम्मेदवारी दिएको छ।
सत्तारुढ दलको तर्फबाट सभामुख र उपसभामुख मनोयन गर्न नागरिक उन्मुक्ति पार्टीका सांसद देखिएनन्। सत्तारुढ दलको मनोनयन सकिएको केही घण्टापछि नारिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म चौधरी दुई जना सांसदसहित उपसभामुख मनोयन गर्न पुगेका थिए ।
उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुको मनोयन दर्ता भएको छ। योसँगै सभामुखमा एक जना र उपसभामुखमा तीन जनाको मनोयन दर्ता भएको छ। सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएको हो।
घर्तीको एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक बसेका छन् भने राप्रपा संसदीय दलका नेता आशिष चौधरी समर्थक छन्। भोलि बस्ने प्रदेश सभाको बैठकमा निर्णयार्थ पेश हुनेछ।
उपसभामुखमा तीन जनाको मनोयन दर्ता भएको छ। सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँड, नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुको मनोनयन दर्ता भएको हो ।
नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत, लोसपाका ३–३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन्।








