काठमाडौं । फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी पत्रकारले गत बुधबार संसद भवनमा सोधेको प्रश्नमा गृहमन्त्री रवि लामिछानेले भनेका थिए, ‘मैले देखिनँ । पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’
गृहमन्त्रीले निर्देशन दिएको एक हप्ता वित्नै लाग्दा पनि सांसद महतो अहिलेसम्म पक्राउ परेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाध रुपमा नियमित काम गरिरहेका छन् ।
संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडि हिँड्डुल गरेर चुनौती दिइरहेका छन् । शपथ ग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो संसदमै उपस्थित भए । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।
उच्च अदालत जनकपुरले २०७७ मा महतोलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेवाट टिकट लिएर संघको निर्वाचनमा होमिएका थिए ।
वारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेललाई पराजित गर्दै विजयी बनेका हुन् ।
मधेश आन्दोलनको समयमा लखेटी लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको अभियोग उनीमाथि छ ।








