काठमाडौं । आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । हिजो साँझ सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरू थपिन लागेका हुन् । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे राखिएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा उसले सहमति जनाएको छैन ।
एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि व्यवस्था, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो । यस्तै माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति एको छ ।
राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय पाउँदा रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ । त्यस्तै जनमत पार्टीले यद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।
शपथअघि जसपा र नागरिक उन्मुक्ति पार्टीलाई मनाउने प्रयास हुनेछ । उनीहरु पनि सरकारमा आउन तयार भए भागबण्डामा केही तलमाथि हुने बताइएको छ ।









