यी हुन् एमाले र माओवादीबाट मन्त्री बन्नेहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।

सत्ता साझेदार दल नेकपा एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता गराउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको सहमतिअनुसार एमाले २ राज्यमन्त्री र ८ मन्त्री पाउने भएको हो ।

उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल र ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । बाँकी चार विभागीय मन्त्रीमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र समानुपातिक सांसद डा विमला राई पौडेल मन्त्री हुने छन् ।

एमालेले यसपाली दुईपटक चुनाव जितेका र अहिलेसम्म मन्त्री बन्न नपाएकामध्येबाट मन्त्री छनौट गर्ने बताए पनि आफैले तय गरेको मापदण्ड भत्काएको छ । अव प्रत्यक्ष चुनाव जितेका बलराम अधिकारीको ठाउँमा विमलालाई मन्त्री बनाउने भएको हो । विमला परराष्ट्र मन्त्री बन्ने छिन् । विमला राष्ट्रपति विद्यादेवी भण्डारी निकटकी नेतृ हुन् ।

एमालेबाट यसअघि ज्वाला कुमारी साह,राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन् । एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाएको छ ।

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको टुंगो लागेको छ । प्रधानमन्त्री बाहेक पाँच मन्त्रालय पाएको माओवादीले तीन मन्त्रीको टुंगो लगाएको हो । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् । थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने भएका हुन् ।

शर्मालाई सूचना तथा सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।