रास्वपा र राप्रपाले टुंगो लगाए मन्त्री हुनेहरुको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूले पाउने मन्त्रीको छनौट गरेका छन् ।

राप्रपाले आफूले पाएका तीन मन्त्रीको टुंगो लगाएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिँचाइ, उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास तथा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्नेछन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने पक्का भएको श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्ष र शिखिर खनाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनाउने निर्णय सुनाएका हुन् । यस्तै डा तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइने भएको छ ।