मन्त्रिपरिषद् विस्तार, मन्त्रीको संख्या २३ पुग्यो, अझै २ मन्त्री थप्न बाँकी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन् ।

मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका हुन् । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री प्रचण्डले गराए ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३, ३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय पाएको छ । माओवादी, रास्वपा र राप्रपाले १, १ राज्यमन्त्री पाएका छन् ।

मंगलबार एमालेबाट विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला बालबालिका मन्त्री तथा हरि उप्रेतीले रक्षामन्त्रीका रूपमा शपथ लिएका छन् ।

त्यस्तै माओवादीबाट रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधि, सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन् । माओवादीबाट राज्य मन्त्री बनेकी सुशीला श्रीपाली भने शपथग्रहण कार्यक्रममा उपस्थित भइनन् ।

राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम तथा समाजिक सुरक्षामन्त्री तथा डा तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् । दुई मन्त्रालय अझै बाँकी छन् । प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका छन् ।