काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा दलित समुदायबाट एक महिलाले मात्र स्थान सुरक्षित गरेकी छिन् । नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट स्थान प्राप्त गर्ने एकल पात्र सुशीला श्रीपाली बनेकी हुन् ।
नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन किराँती छन् ।
३० वर्षे राजनीतिक जीवनमा श्रीपाली पहिलो पटक सांसद बनेकी हुन् । माओवादी केन्द्रबाट समानुपातिकतर्फ सांसद बनेकी श्रीपाली कम्युनिस्ट आन्दोलनमा २०४६ देखिनै लागेकी थिइन् ।
राजनीतिक जीवन उनले प्रवासबाट सुरु गरेकी हुन् । २०५४ साल भदौमा उनी नेपाल फर्किन् । स्वदेश फर्के लगत्तै उनी माओवादी सशस्त्र युद्धमा सहभागी भइन् । तत्कालीन समयमा गुल्मी र अर्घाखाँचीलाई मिलाएर माओवादीले एउटै कमिटी बनाएको थियो । उक्त कमिटीमा उनी सदस्य बनिन् । पार्टी राजनीतिमा मिलिसियाका रुपमा उनी तत्कालीन समयमा लागेकी थिइन् ।
जनयुद्धकै क्रममा २०५५ सालमा श्रीपालीले जनवादी विवाह गरेकी थिइन् । श्रीपालीको श्रीमान डम्मरसिंह ठकुरी माओवादी सेनामा थिए । सेना समायोजन हुँदा उनका पति नेपाली सेनामा प्रवेश गरे ।
२०६४ सालमा पहिलोपटक माओवादी चुनावमा प्रवेश गर्ने बेला अवध राज्य समिति अन्तर्गतको कमिटी सदस्य बनिन् । त्यसअघि पार्टीले उनलाई नवलपरासी क्षेत्रमा खटाएको थियो । माओवादीको हेटौंडा राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य बनिन् ।
माओवादीको केन्द्रीय समेत रहेकी श्रीपाली २०६८ मा दलित आयोगको अध्यक्ष बनेकी थिइन् । २०७२ सालको संविधान जारी भएपछि नेता डा बाबुराम भट्टराईले नयाँ शक्ति दल गठन गरेपछि उनी सोही पार्टीमा आवद्ध भइन् । करिब दुई वर्ष नयाँ शक्तिमा रहेर उनी फेरि माओवादीमै फर्केकी हुन् ।









