काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकबीच चर्काचर्की परेको छ ।
प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली र कांग्रेसका लेखकबीच चर्काचर्की भएको हो ।
अध्यक्ष ओलीले कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले त्यसको प्रतिवाद गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै श्रोतले भन्यो, ‘सत्ता गठबन्धनमा तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’
जवाफमा लेखकले आफूहरू प्रतिपक्ष नै रहेको स्पष्ट पारेका थिए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौँ बरु राष्ट्रिय सहमतिको पक्षमा छौँ । संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएका हौँ,’ लेखकले जवाफ दिएका थिए । लेखकको जवाफपछि अध्यक्ष ओली बैठक स्थलबाट बाहिरिएका थिए ।








