प्रतिनिधिसभाको सभामुखका लागि एमाले र कांग्रेस उम्मेदवारबीच प्रतिश्पर्धा हुने

काठमाडौं । प्रतिनिधि सभाको सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमाले र प्रतिपक्षी दलबाट कांग्रेस उम्मेदवारबीच प्रतिश्पर्धा हुने भएको छ ।

गठबन्धनबाट एमालेले स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

घिमिरेले अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको बानेश्वरमा पुगेर मनोनयन दर्ता गर्नेछन् । मनोनयन दर्ताका लागि आज १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ ।

नेपाली कांग्रेसले पनि सभामुखको उम्मेदवार उठाउने भएको छ । बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले अन्य सहयोगी दलको सहयोगमा सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

उम्मेदवारी मनोनयन दर्ता गर्न अझै केही समय बाँकी रहेकाले यसबीचमा अन्य सहयोगी दलहरुसँग पनि छलफल गरेर उम्मेदवारको टुंगो लगाउने प्रवक्ता महतले बताए ।

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।