प्रतिनिधि सभाको सभामुख, उपसभामुख दुबै झापाले पायो

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित भएकी छिन्। शनिबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन्। सो प्रस्तावमाथि छलफल र निर्वाचन भएपछि राना निर्वाचित भएकी हुन्।

रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत परेको थियो। उनको विपक्षमा ९७ मत परेको थियो। मत दिन्नँ भन्नेमा १ मत परेको थियो । नेमकिपाका सांसद प्रेम सुवाल तटस्थ बसेका हुन् । मतदानमा उपस्थित सांसदको संख्या २६४ रहेको थियो।

उम्मेदवारी दर्ताको पहिलो क्रममै रहेकी राना निर्वाचित भएपछि अर्की उम्मेदवार मुक्ताकुमारी यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गर्नुपरेको थिएन। सभामुखमा माघ ५ गते एमालेका देवराघ घिमिरे निर्वाचित भएका थिए । सभामुखमा माघ ५ गते एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उनी झापाका हुन भने उपसभामुख इन्दिरा पनि झापाकै हुन् ।

५२ वर्षीया रानामगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो । रानामगर मङ्सिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा उदाएकी हुन् ।

कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय तथा शिक्षा दिन उनी ३३ वर्षदेखि सक्रिय छिन् । उनी हाल त्यस्तै दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत हुन् । बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौँ, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ ।

अहिलेसम्म उनले दुई हजारभन्दा बढी बालबालिकालाई शिक्षा र आश्रय दिएको बताइन्छ । अशोका फेलो २००५ रहेकी उनले आफ्नो कामको प्रतिफल स्वरूप धेरै पुरस्कार र अवार्डहरू पाएकी छिन् । तीमध्ये एसिया २१ योङ्ग लिडर पब्लिक सर्भिस अवार्ड २००९, वर्ल्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४, बी बी सी उत्कृष्ट १०० महिला २०१७ प्रमुख हुन् ।